मोरङ । नेकपा एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
गत पुस २५ गते पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर प्रहरीले मिसिल मंगलबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । आज मुद्दा दर्ता भएका कारण बिहीबार प्रतिवादी पोखरेलको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका पाँच बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
मोरङको रङ्गेली नगरपालिका दुई घर भई काठमाडौँमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुनुहुन्छ । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रुपैयाँ पोखरेले बौआलालबाट लिनुभएको थियो ।
एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासनमा पैसा दिएका थिए । तर, नाम ननिस्किएपछि उनले पैसा फिर्ता मागे । पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।
पोखरेलबाट ठगिएपछि बौआलालले २ वर्षअघि आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो । तर, प्रहरीले उहाँको जाहेरी दर्ता गरेन । हुलाकमार्फत जाहेरी पठाएर उहाँले उच्च अदालत विराटनगरमा पनि रिट दायर गराउनु भएको थियो । उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले पक्राउ अनुमति लिएर अनुसन्धान सुरू गरेको थियो ।