झापामा हुलाकी राजमार्ग त बन्यो, कन्काइको पुल भने बनेन

चैत्र १८, २०८१ |गणेशमान मुखिया
झापामा हुलाकी राजमार्ग त बन्यो, कन्काइको पुल भने बनेन

झापा । हुलाकी राजमार्ग दक्षिणी तराईको लाइफ लाइन हो । हुलाकी राजमार्ग अन्तर्गत झापामा भद्रपुरदेखि रतुवा खोलासम्म ४८ दशमलब ५ किलोमिटर सडक पर्दछ । सडक दुई वर्ष अगाडि नै कोलोपत्रे भएको हो । सडक कालोपत्रे भए पनि कन्काई नदीको पुल बनेको छैन भने विरिङ खोलाको पुल पूर्ण रुपमा सञ्चालनमा आएको छैन । पुल नहुँदा नागरिकलाई आवतजावत तथा कृषि उपज ओसारपसारमा निकै असुविधा छ ।

झापामा पर्ने हुलाकी राजमार्ग अन्तर्गत भद्रपुरदेखि मोरङ्को सिमाना रतुवा खोलासम्मको ४८ दशमलब ५ किलोमिटर सडक २ अर्ब ८० करोड रुपैयाँ लागतमा ६ वटा खण्डमा ठेक्का लागेर निर्माण सम्पन्न भएको हो । जस अन्तर्गत १७ वटा पुल पर्दछन् । त्यसमध्ये कन्काई नदीको पुल ६० प्रतिशत निर्माण भएर अलपत्र छ भने विरिङ खोलाको पुल प्राविधिक कारणले सञ्चालनमा छैन । पुल निर्माण नहुँदा सास्ती ब्यहोर्नु परेको स्थानीय बताउँछन् ।

भद्रपुरदेखि राजगढ २० किलोमिटर इन्टर मिडिएट, बाँकी राजगढदेखि रतुवासम्म डबल लेन र मुख्य चौक बजारमा चार लेनको कोलोपत्रे भएको छ । सडक निर्माण कार्य सम्पन्न भए पनि सवारी साधन नचल्दा व्यावसायिक कारोवारले गति लिन नसकेको व्यापारी सुनाउँछन् ।

दक्षिणी तराईमा बसोवास गर्ने जनताका लागि हुलाकी राजमार्ग 'लाइफ लाइन' हो । झापामा उत्पादन भएको धान, मकै लगायत कृषि उपज प्रदेश राजधानी विराटनगर पुर्‍याउन ढुवानी खर्च कम र सहज हुन्छ । पुल निर्माण नहुँदा त्यसको असर स्थानीय बासिन्दा र व्यवसायीले खेप्नु परेको छ ।

सरकारले छिटोभन्दा छिटो कन्काई पुल निर्माण गरिदिए मात्र दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि हुलाकी सडक उपयोगी साबित हुनेछ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।