प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ चितवनको, डीएसपीको नेतृत्वमा छानबिन सुरू

माघ ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ चितवनको, डीएसपीको नेतृत्वमा छानबिन सुरू

चितवन । रातको समयमा प्रहरीले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । उक्त भिडिओ भरतपुरको बाइपास रोड क्षेत्र आसपास खिचिएको पुष्टि भएसँगै चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा घटनाबारे छानबिन सुरू गरेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाइएको र दोषी देखिने प्रहरीलाई कारबाही गरिने बताउनुभयो । अनुसन्धानको जिम्मा डीएसपी ज्ञानकुमार महतोलाई दिइएको छ । महतोले भिडिओमा देखिएको स्थान चितवनकै भएको पुष्टि भएकाले सोही अनुसार अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

सार्वजनिक भएको भिडिओमा एक प्रहरीले राति भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको देखिन्छ । सोही स्थानमा प्रहरीले सवारीसाधनको कागजपत्र जाँच गरिरहेको पनि देखिन्छ । सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देखिन्छ । ‘कसलाई फोन गर्छस् गर’ भनिएको आवज समेत भिडिओ सुनिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले समेत भिडिओबारे अनुसन्धान भइरहेको भन्दै दोषी देखिने प्रहरीलाई कारबाही गरिने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement