काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर अर्थतन्त्रमा पनि देखिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“अर्थतन्त्रमा अलिकति स्लोडाउन भएको असर हामी देख्छौं । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रासरूटमा खट्नुभएको छ”, उहाँले भन्नुभयो ।
गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताउनुभयो । अराजकताका यस्ता विषयहरू सधैं नरहने पनि उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै समग्रमा भने अर्थतन्त्रका सूचकहरू राम्रो रहेको र मुद्रास्फीति नेपाल राष्ट्र बैंकको लक्ष्यभित्रै रहेको पनि उहाँले बताउनुभयो । “पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौं । जसको फलस्वरूप खाद्य, पेय पदार्थतिरको इन्फ्लेशन अलिक बेसी बढेको छ । तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्योभित्रै इन्फ्लेशन बसेको अवस्था छ”, उहाँले भन्नुभयो ।