आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

माघ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज देशभरका विभिन्न समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेला समेत लाग्ने गर्दछ ।

धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी लगायत नखाने र दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले पनि चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

थारू समुदायले भने नयाँ वर्षका रूपमा माघी पर्व मनाउँछन् । आजकै दिन थारू समुदायमा सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखिया सहित वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ ।

थारू समुदायमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ ।

यो पर्वलाई ठाउँ अनुसार विभिन्न नाम पनि दिने गरिएको छ । तराई क्षेत्रमा भने माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement