काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा आजै लामिछानेको बयान र थुनछेक बहस हुने बताइएको छ ।
पूर्वगृहमन्त्री लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।
सम्बन्धित समाचार...