झापाको बिर्तामोड -भद्रपुर सडक : ठेक्काको म्याद दुई पटक सकियो, तर काम सकिएन

पुस २७, २०८१ |गणेशमान मुखिया
झापाको बिर्तामोड -भद्रपुर सडक : ठेक्काको म्याद दुई पटक सकियो, तर काम सकिएन

झापा । झापाको बिर्तामोड-भद्रपुर १२ किलोमिटर सडक ४ लेनको बनाउन २०८० साल साउनमा सम्पन्न गर्ने गरी ०७७ साल माघ महिनामा ठेक्का लागेको हो । पहिलो पटकको म्याद गत फागुनमा सकियो भने दोस्रो म्याद पुस मसान्तमा सकिँदैछ । तर प्रगति ५० प्रतिशत मात्र छ । कहिले ठेक्केदारको ढिलासुस्ती त कहिले बजेट अभावमा सडक निर्माण लम्बिइरहेको छ ।

बिर्तामोड भद्रपुर सडक घाम लाग्दा धुलाम्ये, पानी पर्दा हिलाम्मे हुन्छ । झापा चन्द्रगढी लेखनाथ चौकका बासिन्दाले सधैँ धुलो र हिलोको सास्ती बेहोर्नुपर्छ । चोक आसपासमा पसल गरेर बस्ने, सिटी रिक्सा कुदाउने, विद्यार्थी, ज्येष्ठ नागरिक लगायतलाई स्वासप्रस्वासमा बढी असर परेको छ ।

बिर्तामोड नगरपालिका क्षेत्रमा पर्ने ९ किलोमिटर सडक मध्ये ७ किलोमिटर कालोपत्रे भएको छ । ३ किलोमिटर भद्रपुर नगरपालिका क्षेत्रमा भर्खर सुरु भएको छ । चन्द्रगढी लेखनाथ चौकमा सडक विस्तार गर्न विवाद देखिएको थियो । उक्त विवाद सहमतिको अन्तिम विन्दुमा पुगेको नगर प्रमुख पवित्रा महतार प्रसाईं बताउनुहुन्छ । 

ठेक्केदारको ढिलासुस्ती, बजेट अभाव, स्थानीय बासिन्दाको अवरोध, निर्माण कायले गति नलिनुको मुख्य कारण हुन् । मुख्य चौकमा सीमाङ्कन भर्खर भइरहेको छ । 'आवश्यक बजेट ३७ करोड हो । सरकारले रकम निकासा गरे काम अघि बढ्ला भन्ने आशा छ,' सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्जवल खतिवडा भन्नुहुन्छ ।

कन्टेक प्राली काठमाडौंले यो सडकको ठेक्का पाएको हो । म्याद थपका लागि ठेकेदारले निवेदन दिएको छ । बजेट निकसा नहुने हो भने म्याद थप भए पनि काम नहुने पक्का छ । 


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement