हेलिकोप्टर उड्न दिने निकुञ्जको निर्णय खुम्बुपासाङल्हामु गाउँपालिकाले नमान्ने

पुस २६, २०८१ |भानुभक्त निरौला
हेलिकोप्टर उड्न दिने निकुञ्जको निर्णय खुम्बुपासाङल्हामु गाउँपालिकाले नमान्ने

सोलुखुम्बु । खुम्बु क्षेत्रमा हेलिकोप्टरको उडानलाई पहिलाकै अवस्थामा निरन्तरता दिने सगरमाथा राष्ट्रिय निकुञ्जको पछिल्लो निर्णय स्थानीय सरकारले नमान्ने भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै व्यावसायिक उडान गर्न नदिने पूर्व सहमतिबाट एकाएक पछि हट्ने राष्ट्रिय निकुञ्जको कदमप्रति घोर आपत्ति जनाएको छ ।

पालिका अध्यक्ष मिङमाछिरी शेर्पाले तीन तहका सरकार समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा सञ्चालन हुने संविधानको मर्म रहेको र वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारमा निहित भएको भन्दै खुम्बु क्षेत्रमा वातावरण खल्बलिने गरी व्यावसायिक उडान गर्न नदिने स्पष्ट पार्नुभएको छ ।

उहाँले विज्ञप्ति मार्फत विश्वसम्पदा सूचीमा रहेको क्षेत्रमा शान्तपूर्ण वातावरणमा मानव र पशुपक्षीलाई बाँच्न पाउने वातावरण खलल हुने गरी निश्चित पेशा तथा व्यवसायीहरूलाई मात्रै लाभ हुने गरी हुने व्यावसायिक उडान स्थानीय सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

आपत्कालीन उद्धार, मालसामानको ढुवानीका लागि हवाई उड्डयनलाई भने सहज बनाउन पालिका तत्पर रहेका अवस्थामा व्यवसायीहरूले हेलिकोप्टर उडान नै स्थगन गर्नु सामाजिक उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप पनि पालिकाले लगाएको छ । निकुञ्जले भने जसरी उडान भर्न नदिने अडानमा रहेको पालिकाले सर्वपक्षीय छलफल मार्फत उद्धार तथा ढुवानीका लागि उडान भर्न दिने जनाएको छ ।

यसअघि हेली सञ्चालकहरूले खुम्बु क्षेत्रमा कुनै पनि उडान नभर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले उडानको वातावरण बनाउनका लागि शान्ति सुरक्षाको जिम्मा लिँदै उडान रोक्न खोज्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको थियो । लगत्तै सगरमाथा राष्ट्रिय निकुञ्ज रातारात आफ्नो पूर्ववर्ति अडानबाट पछि हट्दै शुल्क बुझाएर उडान खुल्ला गर्ने निष्कर्षमा पुगेको थियो ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement