क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्वारा राजीनामाको घोषणा

सत्तारुढ लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडोले नै सरकार चलाउने
पुस २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्वारा राजीनामाको घोषणा

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामाको घोषणा गर्नुभएको छ । सत्तारुढ लिबरल पार्टीका नेतासमेत रहनुभएका ट्रुडोले आम निर्वाचनको केही महिनाअघि राजीनामाको घोषणा गर्नुभएको हो ।

लिबरल पार्टीको नयाँ नेता चयन नहुँदासम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नुहुनेछ । सोमबार ओटावामा आयोजित पत्रकार सम्मेलनमा ५३ वर्षीय ट्रुडोले पार्टीले नयाँ नेता चयन गरेपछि पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा राजीनामा गर्ने बताउनुभयो । दलको नेताबाट बाहिरिएसँगै प्रधानमन्त्रीका रूपमा ट्रुडोको ९ वर्षे शासन अन्त्य हुनेछ ।

राजीनामाको घोषणा गर्ने क्रममा ट्रुडोले आफूलाई एक योद्धाको संज्ञा पनि दिनुभयो । महामारीका बेला सेवा गरेको र बलियो लोकतन्त्रका लागि लडेको उहाँको भनाइ थियो । क्यानाडाको चुनाव प्रक्रियालाई सुधार गर्न असफल भएकोमा भने उहाँले पश्चताप व्यक्त गर्नुभयो । गत महिना क्यानाडेली सामानहरूमा अमेरिकी शुल्क लगाउने डोनाल्ड ट्रम्पको धम्कीलाई कसरी व्यवहार गर्ने जस्ता नीतिगत असहमतिहरूलाई उद्धृत गर्दै अर्थमन्त्रीले राजीनामा दिएका थिए ।

पछिल्लो समय ट्रूडोको लोकप्रियता पनि मतदाताहरूमाझ खस्केको छ । उहाँको दल यसै वर्ष हुने आमनिर्वाचनमा पराजयको बाटोमा रहेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रुडोले अप्रत्याशित रूपमा सन् २०१५ मा आफ्नो पार्टीलाई सत्तामा पुर्‍याउनुभएको थियो । तर उहाँको पहिलो कार्यकाल विभिन्न घोटालाहरूका कारण विवादित बनेको थियो ।

पछिल्लो समय क्यानडामा बढ्दो महँगी र शासनशैलीका कारण ट्रुडोको लोकप्रियता घट्न थालेको थियो । जसका कारण आफ्नै दलका एक दर्जनभन्दा बढी सांसदहरूले समेत ट्रुडोलाई राजीनामा दिन दबाब दिँदै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement