बन्धक बनाइएका एक सहित चार बालबालिकाको उद्धार

पुस २१, २०८१ |उत्तम चौलागाईं
बन्धक बनाइएका एक सहित चार बालबालिकाको उद्धार

खोटाङ । कोठामा बन्धक बनाएर राखिएको एक सहित चार जना बालबालिकाको उद्धार भएको छ । ६ वर्षदेखि आफ्नै घरको एउटा कोठामा बन्धक भएका ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ९ वर्षीय बालकलाई आज माया घर नेपालले उद्धार गरेको हो ।

यस्तै, सोही स्थानकी ९ वर्षीया बालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय र १२ वर्षीय दुई बालकलाई पनि उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा उनीहरूलाई पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्ने गरी उद्धार गरिएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो । चारै जना बालबालिकालाई एम्बुलेन्स मार्फत इटहरी पठाइएको छ । उनीहरूको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार माया घर नेपालले गर्ने ढकालको भनाइ छ ।

आफ्नै बुबाआमाले घरको एउटा कोठामा थुनेर राखेको ठाउँबाट उद्धार गरिएका राखाबाङ्देका बालक बोल्न र हिँड्न समेत नसक्ने अवस्थामा रहेको जनाइएको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement