जबरजस्ती करणी तथा हत्या मुद्दाका आरोपीत वडाध्यक्ष जेल चलान

पुस २२, २०८१ |आरएन विश्वास
जबरजस्ती करणी तथा हत्या मुद्दाका आरोपीत वडाध्यक्ष जेल चलान

राजविराज । जबरजस्ती करणी तथा हत्या मुद्दाका आरोपीत सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सप्तरी जिल्ला अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो ।

नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी र हत्या गरी दुई वटा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध जर्वजस्तीकरणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति वेपत्ता गरि हत्या गरेको सम्बन्धी मुद्दा दर्ता भएको हो ।

वडा अध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ । नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।

साह सहितको समूहले सन्तोष कुमारी साहलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई जबरजस्ती करणी गरी हत्या गरेको देखेपछि सन्तोषकी भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी वेपत्ता पछि हत्या गरेको आरोप छ ।

उनीहरुमाथि फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका-१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अपहरण गरी लगेको आरोप छ । नितिश अझैसम्म वेपत्ता छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement