एन्फा महिला लिग : एपीएफद्वारा बागमती युवा क्लब ५-१ गोलले पराजित

पुस २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : एपीएफद्वारा बागमती युवा क्लब ५-१ गोलले पराजित

काठमाडौं । एन्फा महिला लिगअन्तर्गतको सुपर लिग चरणमा विभागीय टोली एपीएफले बागमती युवा क्लबलाई ५-१ गोलले हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा रवाफिलो प्रदर्शन गर्दै एपीएफले जित दर्ता गरेको हो ।

खेलको छैटौं मिनेटमा रेणुका नगरकोटीले दिएको पासमा रश्मीकुमारी घिसिङले एपीएफलाई ब्रेकथ्रू दिलाएकी थिइन् । त्यसैगरी, बागमतीको डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पोस्ट अघिबाट रश्मीले पोस्टको दिशा दिएकी थिइन्। योसँगै खेलमा एपीएफले ब्रेकथ्रू पाएको थियो ।

रश्मीले खेलको १२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । अनिता बस्नेतको कर्नर प्रहारमा रश्मीले हेडर गोल गरेकी हुन् । खेलको १६ औं मिनेटमा बागमती क्लबले डेडलक तोडेको थियो । निशा थोकरको मार्कमा रहेकी बागमतीकी पुष्पाकुमारी खड्काले गोलकिपर सावित्री किसनलाई छक्याउँदै सुन्दर गोल गरिन् । बागमतीले आफ्नो पहिलो अटेम्प्टमा नै गोल गर्न सफल भयो ।

सविता राना मगरले खेलको २६ औं मिनेटमा आकर्षक हेडर गरिन् । उनको प्रहार गोलकिपर सुजता तामाङको नजिकैबाट पोस्ट्भित्र पुगेको थियो। खेलको दोस्रो हाफमा सविताले दिएकोको पासमा अनिता केसीले छ यार्ड बक्सभित्रबाट सुन्दर गोल गरेकी हुन् ।

सरु लिम्बुलाई प्रतिस्थापन गर्दै अनिता दोस्रो हाफमा खेलमा प्रवेश गरेकी थिइन् । यससँगै खेलमा एपीएफले चार-एक गोलको अग्रता बनाएको हो । रश्मीले खेलको ६९ औं मिनेटमा ह्याट्रिक गरिन्। बक्सभित्रबाट उनको प्रहार गोलकिपरले बचाउको प्रयास गरे पनि असफल हुँदा रश्मीको प्रहार गोलमा परिणत भएको हो । दोस्रो हाफमा रश्मीले विपक्षीको पोस्टअघि थप अवसर पाए पनि गोल गर्न सकिनन् । 

उनले गरेका प्रहार पोष्टको नजिकैबाट बाहिरिएका थिए । आजको जितसँगै एपीएफले पहिलो तीन अंक जोडेको छ । बागमती अंकविहीन छ । लिगमा भोलि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement