काठमाडौं । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति, नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।
साथै बिहान साढे ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने बताइएको छ । दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
यसैगरि बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल हुनेछ ।