मापदण्ड नपुग्दा खरिद भएन मार्सी धान

पुस १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मापदण्ड नपुग्दा खरिद भएन मार्सी धान

जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाले मार्सी धान खरिद गर्न सकेको छैन । गत असोज २३ गते नै मार्सी धान खरिदको काम थाल्न कम्पनीको खरिद विभागले पत्र पठाएको भए पनि अझै धान किनिएको छैन ।

खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान नपाइएकोले खरिद प्रक्रिया अघि बढ्न नसकेको खाद्य व्यवस्था कार्यालयले जनाएको छ । कम्पनीको टोली मार्सी धान उत्पादन हुने ठाउँका किसानसम्म पुगेर खरिद गर्ने तयारीमा थियो । तर विभागले तोकेको मापदण्ड पूरा नहुने भएपछि खरिद नभएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा बसेको स्थानीय खरिद समितिको बैठकले मार्सी धानको मूल्य १२० रुपैयाँ तोकेको थियो । त्यसै अनुसार कम्पनीले स्थानीय सरकारसँग समन्वय गरिरहेको थियो । खरिद विभागले पहिलो चरणमा २ सय क्विन्टल मार्सी धान खरिद गर्न कोटा तोकेको थियो ।

घरबाटै मार्सी धान बेच्न पाइने भन्दै खुशी भएका किसान मापदण्ड पुर्‍याउन नसकेपछि निराश छन् । खरिद गरिने मार्सी धानमा १८ प्रतिशत चिस्यान हुनुपर्ने, बाह्य पदार्थ २ प्रतिशतभन्दा बढी मिसिएको हुन नहुने, ५ प्रतिशतभन्दा बढी बिग्रेको दाना नभेटिनुपर्ने र ८ प्रतिशत भन्दा बढी मिश्रण हुन नहुने गरेर मापदण्ड खाद्यले तोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement