बाघ बढाउने अभियानमा सफल सरकार व्यवस्थापनमा भने उदासीन

पुस १६, २०८१ |विकास आचार्य
बाघ बढाउने अभियानमा सफल सरकार व्यवस्थापनमा भने उदासीन

काठमाडौं । नेपालले जैविक विविधता संरक्षणमा आशालाग्दो र महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ । बाघको संख्या बढाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा भइसकेको छ । तर, बाघ संरक्षणमा मात्रै ध्यान दिँदा मानव र बाघबीचको द्वन्द्व बढेको छ । अहिले जंगल छेउछाउका बस्ती नै असुरक्षित बनिरहेका छन् । यस्तो अवस्थामा बाघ व्यवस्थापनमा लाग्नुपर्ने सरकार नै मान्छे खुवाएर बाघ पाल्न सकिदैन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिइरहेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-५ की कान्छीमाया रुम्बाको गएको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । घरनजिकै घाँस काट्न गएको अवस्थामा ७२ वर्षीया रुम्बालाई बाघले आक्रमण गरेको हो । केही समयअघि बाघलाई भैंसीले आक्रमण गरेर मारेको पनि मनहरीमै हो । लगातारजसो वन्यजन्तुको आक्रमण हुन थालेपछि स्थानीय त्रसित छन् ।

“बस्ती नजिक आएर बाघले आक्रमण गरेको देखिन्छ । बेलुका आमा हराइन् भनेर खोज्न जाँदा बारीको पाटामा घरबाट नजिकै बाघले आक्रमण गरेको भेट्यौं”, मनहरी-५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो ।

निकुञ्ज आसपास, मध्यवर्ती क्षेत्र र वन क्षेत्र नजिकमा बाघको आक्रमणले संन्त्रास बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनाभित्रै बाघको आक्रमणबाट ६ सहित साढे ६ वर्षमा ७५ जनाको मृत्यु भइसकेको छ । दिनदिनै वन्यजन्तुले आक्रमण गरिरहँदा सरकारसँग नियन्त्रणको योजना छैन ।

बढ्दो बाघको आक्रमणले मानिसको भोक निद्रा हटेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने अन्तर्राष्ट्रिय समुदायलाई नै झस्काउने खालको गैरजिम्मेबार टिप्पणी गर्नुभएको छ । गत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘मान्छे खुवाएर बाघ पाल्न नसकिने’ बताउनुभएको थियो ।

त्यसो त सरकारले नै सन् २०१० मा बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने भन्दै कार्यक्रम अघि बढाएको थियो । रूसको सेन्टपिटस्‌बर्गमा भएको सम्मेलनले बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरे बमोजिम नेपालले कार्याक्रम अघि बढाएको हो । अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले पनि बाघको संख्या बढेको तथ्यांकलाई गर्वका साथ प्रस्तुत गर्नुहुन्थ्यो ।

सन् २०२२ मा गरिएको गणना अनुसार नेपालमा बाघको संख्या ३५५ छ । जबकि सन् २०१८ मा २३५ वटा मात्र बाघ थिए । चार वर्षमा १२० वटा बाघ बढेका छन् । यही रफ्तार कायम हुने हो भने सन् २०२६ सम्ममा नेपालमा बाघको संख्या ४५० को हाराहारीमा पुग्नेछ र बाघ संरक्षणमा यो नेपालको राम्रो सफलता हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले वाहवाही पनि कमाएको छ । पर्यटक भित्र्याउन टेवा पुर्याउनुका साथसाथै अर्थतन्त्र पनि बढाएको छ । तर, बाघको संख्या बढाउने अभियान चलिरहँदा व्यवस्थापनका बारेमा नसोचेका कारण अहिले बाघ मानव द्वन्द्व बढेको हो । सरकार बाघ त बढाउन सफल भयो तर वासस्थान बढाउन सकेन ।

“घाँसे मैदान व्यवस्थापनदेखि लिएर हाम्रा कर्मचारीहरूको क्षमता अभिवृद्धि, आर्मीका पोस्टहरू, परिचालन गर्नुपर्ने ठाउँमा पर्याप्त संरचनाहरू बनाउन नसक्दा सही ठाउँमा राख्न नसकिएको अवस्था हो । कतिपय ठाउँमा जंगलको छेउमा अतिक्रमण भएको छ । त्यसलाई नियन्त्रण गर्न पर्याप्त बजेट हुन नसकेको कुरा छ”, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो ।

सरकारले अभियाननै चलाएर बाघको संख्या बढाए जस्तै अब वन्यजन्तुको बासस्थान संरक्षण र आहारा उपलब्ध गराउने कार्यक्रम पनि ल्याउनुपर्छ । वासस्थानको व्यवस्थापन गर्न नसक्ने अनि मान्छे खुवाएर बाघ पाल्न नसक्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेबार छ । यस्ता अभिव्यक्तिले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता, प्राप्त उपलब्धि र वाहवाहीको नै अपमान हुन्छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement