काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेल विरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेल विरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो । पोखरेल २०७९ को प्रदेश सभा निर्वाचनमा मोरङ- २ (ख) बाट उम्मेदवार सिफारिस पनि भएका थिए । तर उक्त निर्वाचन क्षेत्रबाट अन्तिममा लीलाबल्लभ अधिकारीले टिकट पाएका थिए ।
बौआलाल चौधरीकी छोरीको नाम एमबीबीएसको प्रवेश परीक्षामा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर अनिलकुमार पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ लिएको अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ ।
यसबीच लेखा समिति सभापति पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिव अनिलकुमार पोखरेललाई निष्कासन गरेका छन् ।