दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । सोमबार राति व्याँस गाउँपालिका–३ गल्था नजिक एम्बुलेन्स दुर्घटनामा पर्दा चालक बिरा डडाल गम्भीर घाइते भएका छन् ।
गाउँपालिकाको केन्द्र सुन्सेराबाट चालक डडालको घर गल्था जाने क्रममा सुदूरपश्चिम प्रदेश-०१-००१च ३८३० नम्बरको एम्बुलेन्स तिंकर सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि भारतको पिथौरागढ रिफर गरिएको व्याँस गाउँपालिकाले जनाएको छ ।
उक्त एम्बुलेन्स गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटीले अनुदानमा उपलब्ध गराएको थियो ।