बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जकी एक मात्र महिला माहुते हुनुहुन्छ हिमानी थारु । ३२ वर्षकी हिमानीलाई हात्तीको रेखदेख गर्न रमाइलो लाग्छ । हात्तीलाई चराउन घना जंगल लैजानु, साँझ बिहान हात्तीसारमा आहारा दिनु, हात्तीलाई नुहाइदिनु उहाँको दिनचर्या हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको परेवाओडारमा रहेको थारुको घर ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित हात्तीसार नजिक छ । बाल्यकालमा उहाँ निकुञ्जका माहुतेहरु हात्ती चढेर ओहोर दोहोर गरेको खुब नियालेर हेर्नुहुन्थ्यो । बाल्यकालको त्यो दृष्य उहाँमा ठूलो भएर माहुते बन्ने प्रेरणा बन्यो । हिमानी १० कक्षामा पढ्दै हुनुहुन्थ्यो, त्यही बेला माहुते पदको लोकसेवा खुल्यो । २०६८ सालमा लोकसेवा पास गरेर हिमानी स्थायी माहुते हुनुभयो ।
हात्तीसारमा हात्तीको गोबर सोर्ने, जंगलमा लगेर चराउने, आहारा खुवाउने काममा निकै सास्ती हुन्छ । कहिलेकाहीँ निकुञ्जको सुरक्षाको लागि गस्तीमा पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा हात्तीको आनीबानी र स्वाभाव थाहा हुन जरुरी हुन्छ, नभए ज्यानै जानसक्छ ।
सबैभन्दा ठूलो स्थलचर जीव हात्तीलाई तालिम दिनु निकै जोखिमयुक्त काम हो । जंगली जनावरलाई साधाउने काममा आफूले हिम्मतले काम गरिरहेको उहाँ बताउनुहुन्छ । कहिलेकाहीँ हात्ती मात्तिन्छ । तालिमे हात्तीमाथि बसेर जंगल सफारी गर्नु जति आनन्ददायक हुन्छ त्योभन्दा निकै परिश्रम हात्तीलाई तालिम दिन लाग्छ ।
बर्दिया निकुञ्जमा १३ वटा घरपालुवा हात्ती छन् । तिनीहरुको रेखदेखका लागि १० जना माहुते, १० जना फणित र १० जना पछुवा छन् । बाँकी सबै पुरुषहरुको बीचमा एक्ली महिला माहुते हिमानी जब हात्तीमा सवार भएर निस्किनुहुन्छ, देख्नेहरु सबै एकैचोटी टक्क अडिएर हेर्छन् ।