काठमाडौं । कर्णाली र लुम्बिनी प्रदेश मुख्यमन्त्रीहरूले विकास र समृद्धिका लागि अन्तर प्रादेशिक आयोजनाहरूमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेतृत्व गरेको उच्चस्तरीय टोलीबीच आज सुर्खेतको वीरेन्द्रनगरमा भएको छलफलपछि अन्तर प्रदेश विकास र समृद्धिका लागि दुवै प्रदेशले समन्वय र सहकार्य गरेर अगाडि बढ्न १९ बुँदे साझा प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश कानुनबमोजिम हुने प्राकृतिक स्रोतबाट संकलन हुने रोयल्टी बाँडफाँट, अन्तर प्रादेशिक सडक विस्तार, लागूऔषध नियन्त्रण, प्रदेशका सीमा क्षेत्रका सडक, पुलजस्ता पूर्वाधार निर्माणमा सहलगानी तथा साझेदारीलगायतका विषयमा साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाइएको हो ।
भेरी बबई बहुउद्देश्यीय आयोजना समयमै सम्पन्न गर्न र लुम्बिनी-सुर्खेत हवाई सेवा सञ्चालन संघीय सरकारसँग पहल गर्ने, लुम्बिनी आउने धार्मिक पर्यटकलाई कर्णालीका गन्तव्यसम्म पुर्याउन एकीकृत पर्यटन गुरुयोजना बनाउने लगायत छन् ।