जाडो बढेपछि मुगुका १२० परिवारले गाउँ छोडे

पुस १२, २०८१ |राजबहादुर शाही
जाडो बढेपछि मुगुका १२० परिवारले गाउँ छोडे

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो भेगमा हिमपात भएसँगै अत्यधिक जाडो बढेपछि करिब १२० परिवारले गाउँ छोडेका छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित मुगु गाउँमा जाडोले बस्न नसक्ने अवस्था आएपछि घर छोडेर स्थानीय बाहिरिएका पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयो ।

अध्यक्ष लामाका अनुसार कार्मारोङ क्षेत्रमा मंसिरमै दुई पटक हिमपात हुँदा अत्यधिक चिसोका कारण धारा तथा खोलाको पानी जम्न थालेको थियो । यस्तै, चिसो स्याँठका कारण घर बाहिर निस्कन नसक्ने अवस्था भएपछि बाध्य भएर गाउँलेले घर छोडेका हुन् ।

गाउँको हेरचाह तथा मालमसानको सुरक्षा गर्ने दुई तीन जना बाहेक चौपाया र बस्तुभाउ सहित कोही सिरानचौर, कोही चितै तिहार बगर, कोही गमगढी त कोही जुम्ला र काठमाडौंतर्फ लागेको अध्यक्ष लामाको भनाइ छ ।

१२० परिवारले गाउँ छोडेर बाहिरिएपछि विद्यालय, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयको सेवा प्रवाह प्रभावित बनेको छ । अहिले गाउँ छाडेका स्थानीय चिसो कम भएपछि चैत-वैशाखमा घर फर्कने गरेका छन् । योबीचमा मुगु गाउँ सुनसान हुने गरेको छ ।

मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरू पनि चिसो छल्न मंसिर १५ गते नै जिल्ला सदरमुकामतिर फर्किसकेका छन् । मुगु गाउँ समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको छ ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement