काठमाडौं । व्यवस्थापनको लापरबाहीले नेपाल वायुसेवा निगमका आन्तरिक उडान पूर्णरुपमा बन्द भएका छन् ।
जहाजका इन्जिनको उडान अवधि सकिएको ७ महिनासम्म पनि नयाँ इन्जिन ल्याउन नसकेपछि निगम आइतबारदेखि नै आन्तरिक उडान गर्न नसक्ने अवस्थामा पुगेको हो ।
निगमसँग आन्तरिकतर्फ उडान गर्ने दुई वटा जहाज भएकोमा एउटाको गत जेठ ३२ गतेदेखि नै उडान अवधि सकिएर ग्राउण्डेट भएको थियो । अर्को जहाजको गत आइतबारदेखि उडान अवधि सकिएर ग्राउण्डेट भएपछि निगमका सबै आन्तरिक उडान ठप्प बनेका हुन् । नयाँ इन्जिनको टेन्डर भइसकेको दाबी गर्ने निगमले अहिलेसम्म ल्याउन भने सकेको छैन ।
निगमले दुई वटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडान भर्दै आएको थियो । आन्तरिक उडान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्नेले सास्ती पाएका छन् ।