काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताउनुभएको छ ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताउनु भयो । उहाँले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिनुभयो । उहाँले संविधान कार्यान्वयनका क्रममा आएका अफ्ठ्याराहरुको विकल्पमा जान सकिने बताउनु भयो ।
अध्यक्ष दाहालले केही कानून बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महशुस गरेको बताउनु भयो । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको बताउनु भयो ।
अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरुको रक्षा र संप्रेषणहरु गर्न जरुरी रहेको बताउनु भयो । उहाँले उपलब्धिहरुको संप्रेषण राम्रोसँग नहुँदा समस्याह पैदा भइरहेको जिकिर गर्नुभयो ।