विश्व आप्रवासन दिवस : सुरक्षित हुन सकेन वैदेशिक रोजगार

पुस ३, २०८१ |सुमन पन्थ
विश्व आप्रवासन दिवस : सुरक्षित हुन सकेन वैदेशिक रोजगार

काठमाडौं । 'सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार' भन्ने मूल नाराका साथ आज विश्व आप्रवासन दिवस मनाइँदै छ । नेपालमा प्रचारात्मक कार्यक्रम गरी दिवस मनाइरहँदा वैदेशिक रोजगार भने सुरक्षित हुन सकेको छैन । श्रमिकहरू आर्थिक शोषणमा मात्र परेका छैनन्, कयौं त मृत्युवरण गर्न समेत बाध्य छन् । श्रम गर्न गएकामध्ये गत वर्ष १४ सयभन्दा बढीको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीमा गएका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका विष्णु थामीको गत कात्तिक २७ मा मलेसियामा मृत्यु भयो । यही पुस-माघमा घर फर्किने भनेका थामीको मलेसियामा अस्वाभाविक मृत्यु भएपछि परिवार अहिले शोकमा छ ।

वैदेशिक रोजगारीमा गएकाहरूमध्ये गएको आर्थिक वर्षमा मात्रै १४४६ जनाको मृत्यु भएको अभिलेख रोजगार बोर्डको सचिवालयमा छ । त्यस्तै ६२७ जना अंगभंग भएका छन् । पछिल्लो १७ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरूमध्ये १७ हजार दुई सयभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । श्रमिकले नै योगदान गरेको कोषबाट मृतकका परिवारलाई क्षतिपूर्ति दिने र अंगभंगको उपचार गर्ने गरिएको छ ।

आन्तरिक रोजगारीको अवसर खुम्चिँदा ६० प्रतिशतभन्दा धेरै घरपरिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । मुलुकको अर्थतन्त्रमा वार्षिक १२ खर्बभन्दा बढी रेमिट्यान्स योगदान गर्ने क्षेत्र भए पनि राज्यले श्रमिकको सुरक्षालाई प्राथमिकता दिन नसकेको जानकारहरूको बुझाइ छ । श्रम गन्तव्य मुलुकसँग गतिलो श्रम सम्झौता नहुने र विश्व परिवेशमा परिवर्तन आए पनि हाम्रो नीति पुरानो हुँदा श्रमिकले अपेक्षित लाभ लिन नसकेको विज्ञको भनाइ छ ।

श्रम आप्रवासन दिवस मनाइरहँदा अहिले पनि धेरै नेपाली साहु महाजनबाट ऋण लिएर जानुपर्ने, म्यानपावर कम्पनीलाई चर्को शुल्क बुझाउनुपर्ने बाध्यतामा छन् । यता श्रम मन्त्रालयले भने अहिले आएर मात्र आउँदा दिनमा विदेशमा अस्वाभाविक मृत्यु र ऋणको पासोबाट मुक्त पार्ने योजना बनाउने तयारीमा छ ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगार व्यवसायी मार्फत ३ लाख ५३ हजार नेपाली श्रमिक विदेशिएका थिए । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति मार्फत् ९५ हजार गएका थिए । आप्रवासन दिवसका अवसरमा ट्रेड युनियनकर्मीहरूले व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रमिक पठाउन सुझाव दिँदै आएका छन् । वैदेशिक रोजगारी नेपालीको स्वेच्छाभन्दा पनि बाध्यता हो । यसलाई सुरक्षित र मर्यादित बनाउन अभियान नै सञ्चालन गर्नुपर्ने खाँचो छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement