डडेल्धुराका दुर्गम बस्तीका नागरिकलाई घरमै विशेषज्ञ उपचार सेवा

पुस १, २०८१ |वरुण पनेरू
डडेल्धुराका दुर्गम बस्तीका नागरिकलाई घरमै विशेषज्ञ उपचार सेवा

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले दुर्गम बस्तीका नागरिकलाई घरैमा पुगेर विशेषज्ञ स्वास्थ्य उपचार सेवा दिने र गम्भीर समस्या देखिएमा माथिल्लो अस्पताल रेफर गर्न सुरू गरेको छ । अहिलेसम्म अहेब र एचएबाट उपचार सेवा लिइरहेका नागरिकले अब भने गाउँमै विशेषज्ञ चिकित्सकबाट नियमित स्वास्थ्य जाँच गराउन पाएका छन् ।

पेट सम्बन्धीको रोगका बिरामी परशुराम नगरपालिका-७ का ७० वर्षीय नन्दराज अवस्थीलाई नियमित स्वाथ्यजाँच गर्न धनगढी पुग्नु पर्थ्यो । तर यस पटक भने उहाँले गाउँमै विशेषज्ञ चिकित्सबाट आफ्नो जाँच गराउनु भयो । नन्दराजले मात्र नभई सो वडाका ५० भन्दा बढी ज्येष्ठ नागरिकले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराए । परशुराम नगरपालिकाले गाउँगाउँमा पुगेर हरेक महिना विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराउन थालेको छ ।

दूरदराजका नागरिकलाई स्वास्थ्य उपचार सेवाको पहुँच बढाउने उद्देश्यले नगरपालिकाले जोगबुढा अस्पतालमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर घुम्ती सेवा दिन थालेको हो । अहिलेसम्म अहेब र एचएबाट सेवा लिई रहेका नागरिक गाउँघरमै हरेक महिना चल्ने विशेषज्ञ शिविरमा आफ्नो स्वास्थ्य जाँच गराउन पाउँदा खुशी छन् । विपन्नता र सचेतना अभावका कारण उपचारमा समस्या भएका ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई लक्ष्यित गरी घुम्ती स्वास्थ्य शिविर सुरू गरिएको हो ।

नगरपालिकाले पहिलो चरणमा १२ वटै वडाका केन्द्रमा विशेषज्ञ चिकित्सक सहित घुम्ती सेवा दिने र त्यसपछि नगरपालिकाले थप दुर्गम बस्तीमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य उपचार नपाई वर्षौंदेखि रोग पालेर बसिरहेका नागरिकलाई नियमित स्वास्थ्यजाँचसँगै उपचार सेवामा समेत सहजीकरण गर्ने योजना बनाइएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र दुर्गम बस्तीका नागरिकलाई सामान्य उपचार गाउँमा पुर्‍याउने गरी नगरपालिकाले हरेक वर्ष यो सेवा नियमित दिने भएको छ । 


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement