डडेल्धुरा । प्राविधिक र वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक निर्माण गर्दा स्थानीय तहहरूले निर्माणमा भन्दा यी सडक मर्मत र सरसफाइमा बढी खर्च गर्नु परिरहेको छ । डडेल्धुराका सात वटै स्थानीय तहहरूले जथाभावी निर्माण गरेका सडकको अहिले दुरावस्था छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले पालिका सदरमुकाम पुग्न पाँच वटा सडक निर्माण गरेको छ । तर पाँच वटै सडक बाह्रैमास संचालन हुनसक्ने अवस्थामा छैन । १२ करोडभन्दा बढी रकम खर्च गरेर बनाएर यी सडक वर्षमा चार महिनाभन्दा बढी संचालन हुन सकेका छैन् । बरु हरेक वर्ष यी सडक मर्मत र सफाइ गर्न लाखौं लाग्ने गर्दछ ।
यस्तै भागेश्वर गाउँपालिकाले पालिका सदरमुकाबाट वडा नं. २ रूपाल पुग्ने तीन वटा सडक निर्माण गरेको छ । यी सडक पनि बाह्रैमास संचालन हुनसक्ने अवस्थामा छैन् । जनप्रतिनिधि र कर्मचारीहरूको मिलोमतोमा मनोमानी ढंगले सडक खनिँदा समस्या देखिन थालेको छ ।
डडेल्धुराका परशुराम र अमरगढी नगरपालिकासँगै आलिताल, भागेश्वर, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाले पनि मनोमानी ढंगले सडक निर्माण गर्दा बर्खाका वेला यी सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन् ।
पछिल्लो पाँच वर्षमा सात वटै स्थानीय तहमा सडक निर्माणमा दुई अर्बभन्दा बढी रकम खर्च भएको देखिन्छ । २०७४ सालको स्थानीय तह निवार्चनपछि जनप्रतिनिधिहरूले आफैं डोजर किन्ने र धमाधम सडक खन्ने काममा अत्यधिक रकम खर्च गरेका थिए । एक ठाउँ जान पाँच/पाँच वटा सडक निर्माण समेत गरिदिए । सडक निर्माणले दीर्घकालमा पर्ने असरबारे जनप्रतिनिधिहरू संवेदनशील नहुँदा अहिले समस्या भएको छ ।
एक करोडमा निर्माण भएको सडक ममर्त तथा सरसफाइमा दुई करोडभन्दा बढी खर्च भइसकेको छ । सडक मर्मत तथा सरसफाइ अधिकांश जनप्रतिनिधिहरूको टाउको दुखाइ बनेको छ । स्थानीय तहहरूले ग्रेड नमिलाई बनाएका सडकमा एकातिर मर्मत र सरसफाइमा ठूलो रकम खर्च भइरहेको छ भने अर्कोतिर कष्टपूर्ण यात्रा र दुर्घटनाको जोखिम उच्च छ ।