बीआरआई सम्झौताका बेला अर्थमन्त्रीको अनुपस्थिती किन ?

मंसिर २३, २०८१ |सुदिल पोखरेल
बीआरआई सम्झौताका बेला अर्थमन्त्रीको अनुपस्थिती किन ?

काठमाडौं । गत साता प्रधानमन्त्रीको चीन भ्रमणमा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा मात्रै सहमति भएन १२ अर्ब ४ करोड चिनले थप अनुदान दिने घोषणा गरियो । अन्य नौ वटा आयोजना बेल्ट एन्ड रोड सहकार्य मार्फत अघि बढाउने सहमति हुँदा पनि अर्थमन्त्री विष्णु पौडेलको भने उपस्थिती भएन । अनुदान मात्रै होइन विकासे आयोजना समेत कार्यान्वयन गराउने भूमिकामा रहेका अर्थमन्त्री कै उपस्थिती नहुँदा यसले शंशय उत्पन्न गराएको छ ।

गत साता प्रधानन्त्री केपी शर्मा ओली ८७ जनाको टोली सहित चीन भ्रमणमा निस्कनुभयो । जहाँ परराष्ट्रमन्त्री आरजु देउवा राणा र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाको उपस्थिती रहृयो । तर, अर्थमन्त्री विष्णु पौडेल सरकारी ३९ जनाको टोलिमा अटाउनु भएन । अनुदान तथा आयोजना निर्माण गर्ने विषयका छलफलमा अर्थमन्त्रीको भूमिका रहने भएपनि यसलाई गौणमा राखियो र प्राथमिकतामा पर्नुभयो युवराज खतिवडा । आफ्नो उपस्थिती नरहेपनि सरकारले अघि बढाएका कुराका विषयमा नै सहमति भएकाले यसलाई चर्चा गर्नु आवश्यक नरहेको अर्थमन्त्री पौडेल बताउनुहुन्छ ।

प्रधानमन्त्रीको भ्रमणमा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा सँगै अन्य नौ वटा विषयमा पनि सहमति भयो । टोखा छहरे सुरुङमार्ग सम्बन्धि पत्र आदान प्रदान मात्रै होइन, विकास योजना सम्बन्धि समझदारी पत्रमा पनि हस्ताक्षर भयो । तर विकासे आयोजनाका विषयमा सहमति हुँदा पनि अर्थमन्त्री पौडेल भने अनुपस्थित रहनुभयो । पौडेललाई छायामा पारेर एमसीसी आयोजनामा समेत पक्षधर रहेका खतिवडालाई अघि बढाउनुले सन्तुलन मिलाउन खोजेको विज्ञ बताउँछन् ।

कतिपयले यसलाई लिएर ओली र पौडेलबीचको सम्बन्धको दुरी बढेको हो कि भनेर पनि अर्थ्याउन थालेका छन्, जसलाई पौडेलले पत्रकारहरुसँग कुरा गर्दै खण्डन गर्नुभयो । पौडेलको खण्डनले अर्थमन्त्री र प्रधानमन्त्रीबीचको सम्बन्ध सुमधुर नै रहेको बताउन मिलेपनि चीन भ्रमणमा पौडेल भन्दा खतिवडा प्राथमिकतामा पर्नुले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक विषयमा डिल गर्ने विषयमा ओलीले पौडेल भन्दा खतिवडालाई प्राथमिकतामा राखेको प्रष्ट देखाउँछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।