गढिमाई मेलामा किसानले खेतीपातीबारे रोबोटसँग कुरा गर्न सक्ने

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
गढिमाई मेलामा किसानले खेतीपातीबारे रोबोटसँग कुरा गर्न सक्ने

बारा । बाराको महागढिमाई नगरपालिकामा सञ्चालित विश्वप्रसिद्ध पञ्चवर्षीय गढिमाई मेलामा मंसीर १८ गतेदेखि २४ गतेसम्म बृहत् कृषि प्रदर्शनी समेत आयोजना भइरहेको छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नु भएको थियो ।

गढिमाई मेला भर्न आउने करोडौं सहभागीलाई लक्ष्यित गरी पालिकाहरूको स्थानीय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धी वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजक संस्था कनेक्ट किसान प्रालिकी अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिनु भयो । कृषक, कृषि उपज, बीउ, मल, बजार र उपभोक्ता एकैठाउँमा भेट हुने यस प्रदर्शनीमा किसानले बजार र उपभोक्ता पाउने र कृषिसँग सम्बन्धित कम्पनीहरूले सीधै किसान तथा उपभोक्ता भेट्दा एक-अर्काको आवश्यकता बुझ्न सहज हुने अध्यक्ष लामिछानेले बताउनु भयो ।

प्रदर्शनीमा पालिका जोन अन्तर्गत सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगन्जको च्याउ, दही तथा हस्तनिर्मीत सामग्री, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्ग्यानिक मह राखिएको छ । त्यस्तै सात प्रदेशका सात फरक परिकार, कोदोको सेलरोटी, कोदोको मम, खुवाको योमरी, मौलिक आलु, गुन्द्रुकको अचार र लोकल खाना समावेश छन् । कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपा सिँचाइ प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्र्याक्टर, रोटावेटर, हार्वेस्ट कम्पाइन तथा अन्य आवश्यक उपकरणहरू राखिएका छन् ।

प्रदर्शनीमा किसानले कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँग कृषि सम्बन्धी विभिन्न समस्या र अवसरको विषयमा प्रत्यक्ष संवाद गर्ने व्यवस्था समेत मिलाइएको छ । त्यस्तै कृषि प्रदर्शनीको अर्को खास आकर्षणमा रोबोट पनि रहेको छ । किसानले आफ्नो कृषि समस्याको विषयमा सीधै रोबोटसँग सवाल जवाफ गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । कृषिलाई आधुनिक प्रविधिसँग जोड्न कृषिसँग सम्बन्धित कुनै पनि सवाल जवाफ सोध्न सक्ने गरी रोबोटको विकास गरिएको कनेक्ट किसानका राजन दाहालले जानकारी दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement