आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्चको लक्ष्य

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्चको लक्ष्य

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ । शुक्रबार सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएको हो ।

अदालतले बनाएको योजना अन्तर्गत आठ वर्ष नाघेका मुद्दाहरू जम्मा एक सय ५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताउनु भयो । उहाँले २०८२ सालको असार मसान्तसम्म आठ वर्ष पुराना मुद्दाहरू शून्यमा झार्ने लक्ष्य अनुसार मुद्दा फर्स्योट गरिरहेको बताउनु भयो । उहाँले सर्वोच्च अदालतमा आफूहरूले ‘जिरो आवर’लाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, “अब हामीसँग आठ वर्ष पुरानो मुद्दाहरू एक सय ५४ थान मुद्दा बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य रहेको छ । हामीले बनाएको योजना अन्तर्गत जसरी भए पनि आठ वर्ष नाघेका मुद्दाहरू जम्मा एक सय ५४ थान रहेका छन् । यो आउने ०८२ सालको असार मसान्तसम्म त्यसलाई शून्यमा झार्ने हो, आठ वर्ष पुराना मुद्दा नराख्ने हो । त्यसरी गएको हो हामी । जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेका छौं ।’

अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा सुरू गरिएको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement