५६ लाख हिनामिना गरेर सहकारी सञ्चालक फरार, बचत फिर्ताका लागि पीडितको हारगुहार

मंसिर २०, २०८१ |नवीन पौडेल
५६ लाख हिनामिना गरेर सहकारी सञ्चालक फरार, बचत फिर्ताका लागि पीडितको हारगुहार

पश्चिम नवलपरासी । प्रतापपुर गाउँपालिका-६ मा रहेको जनहित बचत तथा ऋण सहकारीका सञ्चालक बचतकर्ताको ५६ लाखभन्दा बढी रकम हिनामिना गरेर फरार भएका छन् । बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा निकै टाढा रहेका ग्रामीणबस्तीका निमुखा बचतकर्ताको रकम हिनामिना भएपछि उनीहरूको बिचल्ली भएको छ ।

सहकारीका व्यवस्थापक र सञ्चालक नै सम्पर्कविहीन भएपछि बचतकर्तालाई खाइनखाई जम्मा गरेको पैसा हराउँछ कि भन्ने चिन्ताले पिरोलेको छ ।

कौशिल्या हरिजनले आपत्‌विपतमा काम लाग्ला भनेर पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ मा रहेको जनहित बचत तथा ऋण सहकारीमा केही पैसा जम्मा गर्नु भएको थियो । ७० वर्षकी कौशिल्याले आफ्नो वृद्धभत्ता र छोराहरूले गरेको आम्दानी जोगाउँदै सहकारीमा दुई लाख रुपैयाँ जम्मा गरिसक्नु भएको थियो । तर अहिले सहकारीको कार्यालय नै बन्द भएपछि उहाँ बचत फिर्ताको लागि हारगुहार गरिरहनु भएको छ ।

उहाँ सहित सुस्ता गाउँपालिका-५ का करिब सात सय बचतकर्ता अहिले आफ्नो रकम अपचलन भएको पिरलोमा छन् । करिब ७ सय बचतकर्ताको ५६ लाख ८६ हजार ६ सय ३९ रुपैयाँ अपचलन गरेर संस्थाका व्यवस्थापक अविनासकुमार कुशवाह र सञ्चालक समितिका केही व्यक्ति फरार छन् । बचतकर्ताको उजुरीका आधारमा गाउँपालिकाले छानबिन समिति पनि गठन गर्यो । समितिले अध्ययनको क्रममा सहकारीले बचतकर्ताको रकम र ऋण प्रवाहको अधिकांश रेकर्ड नराखेको, ऋण प्रवाहमा धितो नराख्ने र नगदी रसिद मात्र काट्ने गरेको भेटिएको छ । जसमा व्यवस्थापक अविनाशकुमार एक्लैले ५२ लाख र बाँकी रकम संस्थाका अन्य पदाधिकारीले फिर्ता नगरी अपचलन गरेको उल्लेख छ ।

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरी रकम अपचलनमा संलग्न सात जनालाई कारबाही र आफ्नो बचत फिर्ता गराइदिन पीडितले माग गरेका छन् । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।