काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । दर्शनार्थी एवं भक्तजनका सवारी साधनहरूको पार्किङ तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुह्यश्वरीपारि करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरू पार्किङ हुनेछन् ।
त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूलाई पार्किङ व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने र त्यसका लागि करिडोर सडक र भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताउनुभयो ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाइभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्धबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रूटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने बताइएको छ ।