एनपीएलको पहिलो संस्करण आजबाट, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै

मंसिर १५, २०८१ |खेल ब्युरो
एनपीएलको पहिलो संस्करण आजबाट, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजबाट काठमाडौंमा सुरू हुँदै छ । उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स भिड्ने छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ । न्युजिल्यान्डका चर्चित खेलाडी मार्टिन गप्टिल सम्मिलत विराटनगरले केही समय घरेलु मैदानमा अभ्यास गरेको थियो ।

जनकपुरले भने मैदान अभावका कारण काठमाडौं आएपछि मात्र प्रशिक्षणको मौका पाएको हो । आसिफ शेख मार्की रहेको जनकपुरलाई ललित राजवंशी, किशोर महतो, शुभ कंसकार, तुलबहादुर थापा लगायतका खेलाडीको साथ छ । अन्डर नाइन्टिन एसिया कपका कारण हेमन्त धामी भने उपलब्ध हुने छैनन् । न्युजिल्यान्डका जिमी नीशम जनकपुरको अर्को बलियो पक्ष हो ।

विराटनगरमा टी ट्वेन्टी स्पेसलिस्टका रूपमा परिचित लोकेश बम, प्रतीश जिसी, बसिर अहमद, जितेन्द्र मुखिया छन् । गप्टिलको आमगमनले टोली थप बलियो बनेको छ । सन्दीप आफैं विश्वस्तरीय स्पिनर रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान समर्थकको छ ।

यो खेलका लागि टिकट खुला गरिएको २४ घन्टामै ‘सोल्ड आउट’ भएको थियो । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । 



Enter Kantipur TV HD
Advertisement