प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाबारे सत्तारुढ दल अझै अलमलमा

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाबारे सत्तारुढ दल अझै अलमलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने चार दिन मात्र बाँकी रहँदासम्म पनि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एजेन्डाका विषयलाई लिएर कुरा मिलेको छैन । प्रधानमन्त्री ओलीको सोमबारदेखि हुने चीन भ्रमणका एजेन्डालाई लिएर दुई दलबीच पटकपटक छलफल भए पनि एउटै मत बन्न नसकेको हो ।

मुख्यत: चीनले दिने बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन सम्झौता गर्ने कि नगर्ने भन्नेमा दुई दलबीच एकमत छैन । सत्तारुढ दुई दलबीच नमिलेका विषयलाई लिएर चीनमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणाले चिनियाँ विदेशमन्त्रीसँगसमेत छलफल गर्नुहुनेछ । चिनियाँ पक्षका कुरा सुनेर दुई दलबीच सहमति कायम गर्ने प्रयास पनि हुने छ ।

अहिले पनि नेपालले चीनलाई सहमति कायम गरेरै प्रधानमन्त्रीले भ्रमण गर्ने आश्वासन दिँदै आएको स्रोतले जनाएको छ । अहिलेसम्म नेपाली कांग्रेस चीनले दिने अनुदान मात्र स्वीकार गर्नुपर्ने अडानमा छ । तर नेकपा एमालेले आवश्यकताका आधारमा ऋण वा अनुदान लिन सकिने गरी सम्झौता गर्नुपर्ने पक्षमा छ ।

यता परराष्ट्र मन्त्रालयले भने पुरानै परियोजना र सम्झौता कार्यान्वयनको खाका बनाएर तयारी गरिरहेको छ । मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका बेला टोखा–छहरे सुरुङमार्ग निर्माण, व्यापार र कृषिमा लगानी तथा राँगाको मासु निर्यात गर्ने विषयमा सम्झौता गर्ने तयारी गरेको हो ।

त्यसैगरी नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनलगायतका एजेन्डमा सहमति गरेर अघि बढ्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिने सम्भावना न्यून रहे पनि सहुलिय ऋणको प्रकिया भने अघि बढ्ने सम्भावन रहेको परराष्ट्र स्रोतले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement