लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू

मंसिर १०, २०८१ |विनोद घिमिरे
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू

धनकुटा । ‘हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएको छ । दिवसका अवसरमा धनकुटामा २५ भन्दा बढी सामाजिक संघसंस्थाले प्रभातफेरीको आयोजना गरेका छन् ।

घरेलु र पारिवारिक हिंसा, मानव बेचबिखन, जातीय छुवाछुत र भेदभावको अन्त्यका लागि सोच र व्यवहार परिवर्तन गर्नुपर्ने सन्देश लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरीमा सहभागीहरू उपस्थित भएका थिए । धनकुटा बजारको तल्लो टुँडिखेलबाट शुरू भएको प्रभातफेरी तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, हुलाक टोल हुँदै मदन चोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभावित महिलाको न्यायमा पहुँच नहुँदा घरेलु हिंसाका घटनामा महिला बढी पीडित हुने गरेको कार्यक्रमका सहभागीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २५ गते समापन हुनेछ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement