काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा सरकारमा रहेको पार्टीले सडकमा सभा गर्नु स्वाभाविक भएको बताउनुभएको छ । आज दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारमा रहेको पार्टीले सडकमा किन सभा गर्ने भनेर आलोचना हुने गरेको भए पनि लोकतन्त्रमा यो स्वाभाविक भएको र जनताको पार्टी भएकाले जनतामै जाने निर्णयका साथ सभा आयोजना गरिएको उहाँले बताउनुभयो ।
यस्तै महासचिव पोखरेलले यति र ओम्नीका विषयमा आफूहरूलाई जोडिए पनि उक्त विषय भ्रामक रहेको बताउनुभएको छ । पोखरेलले गिरिबन्धु, टेलिकम लगायत विषयमा पनि आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रमपूर्ण रूपमा जोडिने गरेको बताउनुभयो । उहाँले देश बनाउने पार्टी एमाले नै भएकाले काम गर्न देऊ भन्नका लागि यस खबरदारी सभा आयोजना गरिएको पनि बताउनुभयो । यस्तै, एमाले अलोकप्रिय भयो भन्नेहरूका लागि जवाफ दिन सभा आयोजना गरिएको उहाँको भनाइ छ ।
आफूहरूले सरकारमा रहँदा सकारात्मक काम गरेको भए पनि आफ्ना कामलाई सधैं खिल्ली उडाएको पनि उहाँले बताउनुभयो । यसैगरी, नेपाललाई उज्यालो मुलुक बनाउने नेतृत्व एमालेले गरे पनि त्यसको जस अरूले नै लिएको उहाँको आरोप छ ।