न्यायालय सुधारको जिम्मा म लिन्छु : प्रधानन्यायाधीश राउत

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्यायालय सुधारको जिम्मा म लिन्छु : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफु कसैको दबाब र प्रभावमा नपर्ने दाबी गर्नुभएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको चौथो संस्करणको ‘कान्तिपुर कन्क्लेभ’ मा उद्घाटन मन्तव्य दिदै प्रधानन्यायाधीश राउतले न्यायपालिकामा सुधार आवश्यक रहेको भन्दै त्यसको जिम्मा आफुले लिने बताउनु भयो । त्यसका लागि नेतृत्व सक्षम र इमान्दार हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले न्याय क्षेत्रको सुधारले मात्र समाजमा व्याप्त निराशा घटाउन सकिने बताउनुभयो ।

कन्क्लेभको उद्घाटन गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले लोकतान्त्रिक आयाममाथि थपिएका चुनौतीमाथि सार्थक बहस गरि लोकतन्त्रलाई मजबुत बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले ‘की–नोट स्पिच’ दिदैं बदलिदो परिवेशमा मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर विश्वभर नै चलेको बताउनुभयो । उहाँले यसले समग्र लोकतान्त्रिक अभ्यासलाई प्रभावित बनाएको बताउनुभयो ।

कन्क्लेभको पहिलो दिन आज ‘दोबाटोमा लोकतन्त्र’, ‘नीति र समृद्धि’, ‘लोकरिझ्याइँको लहर’, ‘सामाजिक सञ्जाल : दुईधारे तरबार’, ‘कलम र शक्ति : नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक’ र ‘प्रचण्डपथ : सडक कि सत्ता?’ शीर्षकमा बहस हुनेछन्।

दोस्रो दिन भोलि बिहीबार ‘निर्वाचन सुधार : नीति कि प्रवृत्ति?’, ‘भूराजनीतिक खलबल’, ‘मैदानमा महिला नायक’, ‘सीमापार समृद्धि’, ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ र ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकका सत्र रहेका छन्।

एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्ट्सको सहप्रायोजन हुने बहसका १२ सत्रमा १० विदेशीसहित ५५ वक्ता रहनेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.