पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा विवादपछि झडप हुँदा ६ जना घाइते

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा विवादपछि झडप हुँदा ६ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण प्रक्रिया सुरु गर्ने क्रममा झडप हुँदा ६ जना घाइते भएका छन् ।

झडपमा परि निर्माणको विरोधमा रहेका फुङलिङ नगरपालिका-४ का चन्द्र मादेन, निर्माणको पक्षमा रहेका फुङलिङ -४ का दामोदर अधिकारी र फक्ताङलुङ गाउँपालिका-५ का अर्जुन लिम्बू घाइते भएका छन् । उनीहरु उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

यसैगरी निर्माण पक्षका कुमार शेर्पा, सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी सामान्य घाइते भएका छन् । पाथीभरा माता केबुलकार कम्पनीले निर्माणको जिम्मा दिएका हिमालय कन्ट्रक्सन र सेवालुङ निर्माण सेवाले शिलान्यासका लागि संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन लगायतलाई लिएर गएका थिए ।

उनीहरुसँगै उद्योगी-व्यवसायी पनि सदरमुकाम फुङलिङबाट गएका थिए । शिलान्यास सकेर स्काभेटर मेसिन निर्माण क्षेत्रमा लैजाने क्रममा केवलकार निर्माणको विरोध गर्दै आएकाहरुले अवरोध गरेपछि प्रहरीले मेसिन रोकेको थियो ।

निर्माण पक्षले प्रहरीलाई चाबी मागेपछि निर्माण पक्ष र विरोध गर्ने पक्षबीच ढुङ्गा हानाहान हुँदा उनीहरु घाइते भएका हुन् । झडपपछि निर्माण कम्पनी सदरमुकाम फुङलिङ फर्किएको छ । प्रशासनले निर्माणमा समन्वय गर्ने बताएपछि आफूहरु फर्किएको कम्पनीका प्रबन्धक इन्द्र केदेम बताउँछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement