काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।
विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले अपरान्ह कमलपोखरी पुगरे सूर्यसहित छठी माताको पूजा गरेर र अर्घ्य दिनुभएको हो ।
त्यसलगत्तै राष्ट्रपति पौडेल गौरीघाट जानुभै छठको पूजा आराधना गर्नुभयो ।