बुटवल । रुपन्देहीको तिनाउ, दानव, रोहीणी, कंचनलगायतका नदी किनारमा पनि बिहीबार छठ पर्वको रौनक देखियो ।
नदी किनारहरुमा अस्ताउदो सूर्यलाई अर्घ्य दिन र पूजा गर्न भिड लागेको छ । दानव र कञ्चन नदीको संगमस्थल सूर्यपूराको सन्तेश्वर घाटमा सबैभन्दा धेरै जमघट भएर छठ पूजा गरिएको थियो ।
रुपन्देहीमा पनि पछिल्लो समय आस्थापूर्वक छठ पर्व मनाउने चलन बढेको छ । बिहेबारी र रोजगारीका शीलशीलामा मिथिलाका समुदायसँग घुलमेल भएको र आफूले चाहेको कुरा छठी माताले पूरा गरिदिने विश्वासका कारण व्रत बस्न थालेको व्रतालुहरु बताउँछन् ।
छठ पर्व मानिसका लागि मात्र होइन सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।