सरकारको विपद् कोषमा करिब ३ अर्ब जम्मा

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारको विपद् कोषमा करिब ३ अर्ब जम्मा

काठमाडौं । असोजको दोस्रो साता गएको बाढी र पहिरोमा परेकाहरुले राहत नपाएको गुनासो गरिरहेका बेला सरकारको विपद् कोषमा भने झन्डै ३ अर्ब रुपैयाँ जम्मा भएको छ । सरकारले विपद् प्रभावितको पुनर्स्थापनाको काम भने सुरु गरेको छैन ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म १ अर्व ८७ करोड ७७ लाख ३ हजार ५ सय ४७ रुपैयाँ रहेको छ । त्यसैगरी, गृहमन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँभन्दा बढी छ ।

सरकारले विपद्‌मा परेकाहरुलाई सहयोग गर्न आह्वान गरेपछि प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा भएको हो । कोषमा विभिन्न राजनीतिक दलसहित सरकारी तथा गैरसरकारी कार्यालय तथा दातृ संस्थाहरुले सहयोग गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम मन्त्रिपरिषद्को निर्णयपछि मात्र गृह मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी, पहिरो र डुबानपीडितका लागि कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने बताउनुभएको थियो । त्यस्तै कोषमा एक अर्ब रुपैयाँ निकास गर्ने भने पनि अहिलेसम्म भएको छैन ।

यता गृह मन्त्रालयले प्रभावित परिवारलाई अहिलेसम्म ४३ करोड रुपैयाँ जिल्ला विपद कोषमार्फत पठाइसकेको जनाएको छ । मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

त्यसैगरी घरबारविहीन भएका पाँच जनाभन्दा मुनिको परिवारलाई १५ हजार र त्यसभन्दामाथिका परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराइएको गृह मन्त्रालको भनाइ छ । बाढी, पहिरो र डुबानबारे बढी प्रभावित २० जिल्लाका ७१ पालिकालाई सरकारले संकटग्रस्त घोषणा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement