रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ । रास्वपाको पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो । सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।

गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा रहनुभएको छ । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । जोशीलाई पनि आज अदालत लगिएको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरिले रविसँग थप बयान लिने तयारी पनि गरेको छ ।

यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार विदाकै बीचमा सकिएकाले प्रहरीले आज पुन: कास्की जिल्ला अदालतमा उहाँलाई उपस्थित गराएको हो । आवश्यक कागजात तयार पार्न प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्ने तयारी गरेको छ ।

गत असोजमा सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा गोर्खा मिडियाका अध्यक्ष जीवी राई निकट लिला पछाइलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँले गत चैतमा मलेसिया गएर जीवीलाई भेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उहाँको कारोबार पनि अस्वभाविक देखिएको र केही रकम क्रिप्टोमार्फत् विदेश पठाएको आशंकामा पनि अनुसन्धान जारी छ । छविले भने रवि र जिविकै योजनामा गोर्खा मिडिया ग्रुपमा पैसा आएको बयान दिनुभएको छ । रविको बैंक खाता र त्यसमार्फत् भएका सबै कारोबार संकलन गर्ने काम भइरहेको छ ।

उहाँले नेपालबाट केही रकम विदेश पठाएको हुन सक्ने आशंकामा त्यस तर्फ पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ । उहाँले आर्थिक कारोबार गरेका व्यक्ति र आफन्तहरुको समेत विवरण खोज्नुपर्ने भएकाले समय लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

यसैबीच रुपन्देहीमा पनि लामिछानेविरुद्ध पुरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उहाँलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उहाँलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement