रवि लामिछानेलाई म्याद थपका लागि भोलि अदालतमा उपस्थित गराइने

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई म्याद थपका लागि भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि भोलि फेरि कास्की जिल्ला अदालतमा लगिने भएको छ । रास्वपाको पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो । सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।

गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान अर्थात् ततिम्बा बयान लिने तयारी पनि गरेको छ । यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुन: कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ ।

आवश्यक कागजात तयार पार्न, ततिम्बा बयानसमेत लिन प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्ने तयारी गरेको छ । गत असोजमा सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई निकट लिला पछाइलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनले गत चैतमा मलेसिया गएर जीबीलाई भेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको कारोबार पनि अस्वभाविक देखिएको र केही रकम क्रिप्टोमार्फत विदेश पठाएको आशंकामा पनि अनुसन्धान जारी छ । छविले भने रवि र जीबीकै योजनामा गोर्खा मिडिया ग्रुपमा पैसा आएको बयान दिएका छन् । रविको बैंक खाता र त्यसमार्फत भएका सबै कारोबार संकलन गर्ने काम भइरहेको छ ।

उनले नेपालबाट केही रकम विदेश पठाएको हुन सक्ने आशंकामा त्यसतर्फ पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ । उनले आर्थिक कारोबार गरेका व्यक्ति र आफन्तहरुको समेत विवरण खोज्नुपर्ने भएकाले समय लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

यसैबीच रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.