तिहारमा उपहार : पाल्पामा बढ्‍यो ढाकाको व्यापार

कार्तिक १५, २०८१ |माधव अर्याल
तिहारमा उपहार : पाल्पामा बढ्‍यो ढाकाको व्यापार

पाल्पा । तिहारको अन्तिम दिन अर्थात् भाइटीकामा दिदीभाइ र दाजुबहिनीबीचको आत्मियतालाई प्रगाढ बनाउन ढाकाबाट उत्पादित सामग्रीले सहयोग पुर्‍याउने गर्छ । भाइटीकामा दाजुबहिनी र दिदीभाइले एक अर्कालाई टीका लगाएर उपहार दिने भएकाले पाल्पालगायत पहाडी जिल्लामा ढाकाका कपडाका साथै सामग्रीको खरिद बिक्री बढेको छ ।

तिहार नजिकिँदै गर्दा तानसेन नगरपालिका ६ की विना खत्रीलाई ढाका टोपी सिलाउन भ्याइनभ्याइ छ । दशैँ अघिदेखिको व्यस्तता तिहारको टीकाको अघिल्लो दिनसम्मै रहन्छ । उद्योगी तथा व्यापारीले भाइटीकाको दिनसम्म नै ढाका टोपीको व्यापार गर्ने भएकाले सिलाउन व्यस्त भएका हुन् ।

सिलाई कटाई गर्ने माया मश्रीष मगरलाई पनि टोपी सिलाउन भ्याइनभ्याइ छ । यस भेगमा तिहारमा भाइटीका लगाएर दिदीबहिनीले दाजुभाइलाई र दाजुभाईले दिदीबहिनाीलाई उपहारका रुपमा ढाका र ढाकाबाट उत्पादित विभिन्न सामग्री लगाइदिने प्रचलन भएकाले पनि दशैँ अघिदेखि नै टोपी सिलाउनुपर्छ ।

ढाका कपडा उद्योगमा पनि ढाकाका चोली, टोपी, ब्याग, सारीलगायतका सामग्रीका लागि बुन्ने कालीगढ व्यस्त छन् । ढाका बुन्ने मात्र होइन, सिलाउनका लागि कटिङ गर्नेलाई पनि चटारो नै छ । टोपी मिलाउने र त्यसलाई शोरुमका साथै बाहिर जिल्ला पठाउन पनि व्यापारी आतुर छन् । दशैँअघि देखिको व्यस्तता तिहारको अघिल्लो दिनसम्म नै रहन्छ ।

बजारमा पनि आन्तरिक तथा वाहृय पर्यटकको आकर्षण ढाका तथा ढाकाबाट बनेका सामग्रीमै हुन्छ । ६६ वर्षअघि बंगलादेशको ढाकाबाट भित्रिएको पाल्पाली ढाका पछिल्ला समयमा सबैको रोजाईमा पर्ने गरेको छ । ढाका कपडाले तिहारमात्रै होइन अन्य सिजनमा पनि व्यापार व्यवसाय बढाएको छ । तिहारको सेरोफेरोमा भने पाल्पामा ढाका कपडाको व्यापार कम्तीमा ५ करोड रुपैयाँ बराबरको हुन्छ ।

ढाकाटोपीले देशका बुटवल, पोखरा, बाग्लुङ, बेनी, नारायणगढ, नेपालगञ्ज, हेटौंडा र काठमाडौंलगायत विदेशमासमेत बजार बढाएको छ । पाल्पामा कति ढाकाका कपडाको उत्पादन हुन्छ भन्ने आधिकारिक तथ्याङ्क नभए पनि वार्षिक झन्डै १० करोडको ढाकाका कपडाको व्यापार हुने अनुमान छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement