काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गर्नुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताउनुभएको हो । उहाँले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताउनु भयो । उहाँले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।
निर्देशक घिसिङले सकेसम्म तिहारमा विद्युत् पुर्याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताउनु भयो ।
'यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ,' उहाँले भन्नुभयो, 'तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्न अनुरोध गर्दछु ।’