तिहारमा सुरक्षा व्यवस्था कस्तो छ ?

कार्तिक १४, २०८१ |रमेश धमला
तिहारमा सुरक्षा व्यवस्था कस्तो छ ?

काठमाडौं । तिहारमा अहिले सबैतिर झिलिमिली छ । घरघरमा दीपावली सुरु भएको छ । सहरी क्षेत्र झकिझकाउ भएका छन् । गाउँमा पनि चहलपहल छ । मानिसहरु तिहार मनाउन व्यस्त भइरहेका बेला आपराधिक समूहले भने मौका कुरेर बसेको हुन सक्छ । विषेश गरेर तिहारको समयमा आफ्नै कारण निम्तिन सक्ने दुर्घटना र देउसी–भैलोको नाममा अरुलाई पार्ने असर तथा अपराधिक घटना नियन्त्रण गर्न प्रशासनले विषेश सतर्कता अपनाएको छ ।

बजारमा तिहारको किनमेल गर्ने रौनक छ । विषेश गरेर तिहारको समयमा देउसी भैलो सबै भन्दा रमाइलो पक्ष हो । त्यही बहानामा हुन सक्ने दुई समूहबीचको झगडाले दुर्घटना निम्त्याउने गरेको उदाहरण विगतदेखि नै देखिँदै आएको छ । यो बेला हुन सक्ने आपराधिक घटना र दुर्घटना नियन्त्रण गर्न प्रहरी प्रशासनले सतर्कता बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिलेसम्म देउसी–भैलो खेल्न कुनै समय सिमा तोकेको छैन । सभ्य र अरुलाई असर नपर्ने गरी खेलिने देउसी–भैलोका लागि कुनै समय नतोकिए पनि कसैको चाहानाबिना जबर्जस्ती घरमा जाने, बिरामी भएको घर तथा इच्छाविपरित जानेलाई भने कारबाही दायरामा ल्याइने भएको छ । 

त्यस्तै मादक पदार्थ सेवनले दुर्घटना निम्त्याउन सक्ने भएकाले सुरक्षा जाँच बढाइएको छ । आतिसवाजीका नाममा आगलागी हुन सक्ने भएकाले त्यसमा नियन्त्रण गर्ने सूचना जारी गरिएको छ । सामाजिक सद्भाव खल्बल्याउनेहरुलाई निगरानीमा राखेर प्रशासनले विषेश सुरक्षा योजना लागु गरेको छ ।

प्रहरीले पनि दशैंका बेला तयार पारेको चाडपर्व लक्षित सुरक्षा योजना तिहारमा पनि लागु गरेको छ । प्रहरीले जुवा, मादक पदार्थ सेवन, सामाजिक सद्भाव खल्बल्याउन सक्ने समूह लक्षित योजना बनाएको हो । 

त्यस्तै पकेटमारी, देउसी भैलो खेल्न जाँदा हुने चोरी, दुर्वव्यहार, लागुऔषध र मादक पदार्थ सेवन गरेर अरुलाई अप्ठेरो पार्ने समूहमाथि प्रहरीले निगरानी बढाएको छ । दशैंमा जस्तै अहिले पनि आपराधिक समूह लक्षित गरेर सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । पटका जस्ता विष्फोटक पदार्थ नियन्त्रण अभियान पनि जारी छ । त्यसो त व्यक्ति स्वयमले पनि आतिवाजी गर्दा आगलागी तथा दुर्घटना निम्तन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने सुझाव प्रहरीको छ ।

तिहारका बेला काठमाडौं उपत्यकाभित्र मात्रै झन्डै ३७ सय प्रहरी परिचालन हुने छन् । चाडपर्व खुसी साटने अवसर हो । त्यसैले यसलाई कुनै अपराधिक समूहका लागि मौका बन्न नदिने तर्फ प्रहरीको सक्रियतासँगै व्यक्ति स्वयम् सतर्क हुन पनि उतिकै आवश्यक छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement