विद्युत प्राधिकरणलाई कमजोर र धारासायी बनाउने प्रयास भइरहेको छ : वर्षमान पुन

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्युत प्राधिकरणलाई कमजोर र धारासायी बनाउने प्रयास भइरहेको छ : वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४ सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाउनुभएको छ ।

डेडिकेटेड र ट्रंक लाइन विवादबारे आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले विद्युत प्राधिकरणको नियमावलीअनुसार महसुल तिर्न अटेरी गर्ने उद्योगीमाथि विद्युत चोरीको कसुरमा कारबाही हुन सक्ने चेतावनी दिनुभएको छ । 

पुनले उद्योगीहरुलाई बिना अर्घेल्याईं तोकिएको महसुल तिर्न आग्रह गर्दै एकैपटक नसके नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नसमेत सुझाउनुभएको छ ।

अधिकांश सार्वजनिक संस्थान धारासायी अवस्थामा रहेका बेला नेपाल विद्युत प्राधिकरणलाई आफूहरुले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएको भन्दै पुनले यो मन नपराउने तत्वहरुले पटकपटक प्राधिकरणलाई कमजोर र धारासायी बनाउने असफल प्रयास गर्दै आएको आरोप समेत लगाउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.