पनौतीका बाढीपहिरो पीडित सुकुम्बासीलाई बासकै चिन्ता

कार्तिक ३, २०८१ |पुजन धिताल
पनौतीका बाढीपहिरो पीडित सुकुम्बासीलाई बासकै चिन्ता

काभ्रे । काभ्रेमा बाढीपहिरोले क्षति पुर्‍याएको तीन साता भइसकेको छ । तर पनि पनौती नगरपालिकाको ७ नम्बर वडामा रहेको सुकुम्बासी बस्तीका नागरिकले सामान्य राहतभन्दा अरु कुनै सहायता पाउन सकेका छैनन् । 

रोशी खोलाको किनारमा २०६२ देखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका नागरिकलाई बासकै चिन्ता छ । अहिले केही भाडामा बसेका छन् त केही अस्थायी टहरा जोहो गर्दैछन् । कोही भने बाढीका बेला डुबेको घर सरसफाइ गरेर फेरि त्यहीँ गएर बस्ने प्रयास गर्दैछन् ।

अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेका सबै पालिका प्रभावित भए । बाढीपछि धेरै ठाउँमा उद्धार र राहतका काम भए तर यो बस्तीका बासिन्दा भने सरकार आफूलाई नागरिक नै नठानेको गुनासो गर्छन् ।

१६/ १७ वटा घर भएको सुकुम्बासी बस्तीमा बाढीपछि कुनै पनि घर बस्न योग्य छैनन् । घरबाट कुनै पनि सामान झिक्न नपाएको यो बस्तीका नागरिकको भनाइ छ । न त सरकारले नै कुनै राहत दिएको छ । उनीहरु भने सरकारले बसोबासको व्यवस्था गरिदिन्छ कि भनेर पर्खिइरहेका छन् ।

नगरपालिकाले भने विभिन्न उप समिति गठन गरेर क्षतिको विवरण संकलन तथा राहत वितरण भइरहको दाबी गरेको छ । सुकुम्बासी बस्तीका नागरिकलाई अहिले पनि बासकै चिन्ता छ । बाढीपहिरो प्रभावित नागरिकलाई सुरक्षित बासस्थानको व्यवस्थापन गर्न तीनै तहका सरकारले काम गर्नु अपरीहार्य छ।  


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।