गौशाला धर्मशाला महानगरपालिकासँगको समन्वयमा सञ्चालन गर्छौं : पशुपति क्षेत्र विकास कोष

मारवाडी सेवा समितिसँग भएको सम्झौता रद्द भइसकेको र मोहियानी हक नरहेको दाबी
आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौशाला धर्मशाला महानगरपालिकासँगको समन्वयमा सञ्चालन गर्छौं : पशुपति क्षेत्र विकास कोष

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ परिसरमा रहेको गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाएर आफैं सञ्चालन गरेर छाड्ने दाबी गरेको छ ।

कोषले आज पत्रकार सम्मेलन गरी मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको धर्मशाला सञ्चालनको सम्झौता रद्द भइसकेकाले अब आफैंले सञ्चालन गर्ने जानकारी दिएको हो । कोषले ९ रोपनी क्षेत्रफलमा निर्मित धर्मशाला वार्षिक ५१ हजार रुपैयाँमा सञ्चालन गर्न मारवाडी सेवा समितिलाई दिएको थियो ।

सम्झौता रद्द गर्ने निर्णयविरुद्ध मारवाडी सेवा समिति काठमाडौं जिल्ला अदालतमा पुगेको थियो । तर अदालतले समितिको दाबी नपुग्ने ठहर गरिदिएको थियो । अदालतको आदेशअनुसार धर्मशाला खाली गराएर काठमाडौं महानगरपालिको संयोजनमा आफै सञ्चालन गर्ने दाबी कोषले गरेको हो । मारवाडी सेवा समितिले धर्मशालाको मोहियानी हक दाबी गर्ने कुनै प्रमाण नभएको जिकिर कोषको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमै मारवाडी सेवा समितिसँग धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता समयसापेक्ष नभएको भन्दै नयाँ सम्झौता गर्न सुझाव दिएको थियो । सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले समेत सम्झौताअनुसार धर्मशाला सञ्चालन नभएको बताएका थिए । अब कोषसँगको समन्वयमा महानगरपालिकाले अहिले कै धर्मशालालाई नि:शुल्क सञ्चालन गर्ने योजना बनाएको छ ।

महानगरपालिकाले धर्मशाला सञ्चालनको ब्यानरसमेत राखिसकेको छ । मारवाडी सेवा समितिले भन्ने आफूहरुले नै सञ्चालन गर्न पाउनुपर्ने भन्दै विरोध गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.