बाँकेमा सवारीसाधनको निगरानी कमजोर हुँदा मानव बेचबिखनको जोखिम बढ्यो

आश्विन २८, २०८१ |जे पाण्डे
बाँकेमा सवारीसाधनको निगरानी कमजोर हुँदा मानव बेचबिखनको जोखिम बढ्यो

बाँके । बाँकेमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) स्थापना भएपछि मालवाहक यातायातको निगरानी गरिन्छ । तर नजिकैबाट चल्ने यात्रुवाहक सवारीसाधनको खासै जाँच हुँदैन । जबकि बाँकेको पुरानो व्यापारिक नाका जमुनाहा हुँदै विगतमा मानव बेचबिखन गर्ने गराउनेहरु सक्रिय हुने गरेका थिए । आईसीपी हुँदै भारतका विभिन्न सहरमा जाने/आउने यात्रुवाहक सवारीसाधनमा मानव ओसार-पसार तथा बिचबिखन गर्ने/गराउनेहरुले नेपाली महिलालाई लैजाँदै त छैनन् भन्ने प्रश्न उठेको छ ।

बाँकेमा आईसीपी स्थापना भएपछि यात्रुवाहक सवारीसाधनको निगरानी गर्न छाडिएको छ । यात्रुहरुसँग सोधपुछ समेत हुँदैन । निर्वाधरुपमा चलिरहेका सवारीसाधनमा कुनै निगरानी नगरिँदा नेपाली महिला बेचविखनमा पर्ने जोखिम बढेको हो ।

यसै पनि मानव तस्करले विभिन्न प्रलोभन र जालमा पारेर नेपाली महिलालाई नेपालगञ्ज हाँदै भारतसँगै खाडीमुलुक पुर्‍याई बेचबिखन गर्ने र जोखिमपूर्ण काममा लगाउँदै आएका छन् । मानव ओसारपसार तथा बेचबिखनविरुद्ध कार्यरत एक दर्जनभन्दा बढी सामाजिक संस्थाले महिलालाई आइपर्नसक्ने जोखिमबाट जोगाउन पुरानो मार्गमा निगरानी राख्ने गरेका थिए । त्यति गर्दा पनि नियन्त्रण भएको थिएन । तर वैशाखमा सन्चालनमा आएको यो नयाँ मार्गमा सामाजिक संस्थाहरुले मात्र होइन, गृह प्रशासनले समेत चासो दिएको छैन । कतिसम्म भने सीमापार गर्नेहरुसँग प्रशासनले सोधपुछसम्म गर्दैन ।

आईसीपी प्रवेश द्वारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले यात्रुसँग भएका पोका पन्तरा खोतल्लेबाहेक मानव ओसारपासार तथा बेचबिखनको पाटोतर्फ पटक्कै ध्यान दिँदैन । नेपाल प्रहरीले पनि आईसीपीको मार्ग आफूहरुको क्षेत्राधिकारभित्र नपर्ने भन्दै आएको छ । यसलाई लिएर सामाजिक अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । जबकि पुरानको मार्गबाट वैशाख अघिसम्म जोखिम आंकलन गरेर १ सयभन्दा बढी महिलालाई फर्काइएको थियो ।

यो मार्ग हुँदै भारतका विभिन्न सहरमा दैनिक ४ देखि ७ वटा यात्रुवाहक बस छुट्छन् । ती सबै बस पुरानो भन्सार नाकाभन्दा २ किलोमिटर उत्तर चौलिक्काबाट पश्चिम दक्षिण लाग्छन् । जहाँ महिला ओसारपसार भए/नभएको निगरानी नै गरिएको छैन । तर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मानव बेचबिखन नियन्त्रण समितिले आईसीपीतर्फको नयाँ मार्गसँगै राझा विमानस्थलमा समेत जाँच गर्न लगाउने निर्णय भएको छ ।

आर्थिक वर्ष २०८०/८१ म नेपालगञ्ज नाका भएर भारतसँगै तेस्रो मुलुकमा जोखिमपूर्ण कामका लागि जान थालेका १ हजार ४ सय ४१ जनालाई पुरानो मार्गबाट फिर्ता गरिएको थियो । अहिले यो ठप्पजस्तै भएकाले नाकामा सतर्कता बढाउनुपर्ने देखिएको छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement