धनकुटा । समय र पुस्तान्तरणसँगै दशैं मनाउने शैलीमा पनि परिवर्तन हुँदै गएको छ । दशैं संस्कृतिको मौलिकता जोगाइ राख्नुपर्ने जिम्मेवारी पनि छ ।
वर्षा थामिएर खुलेको आकाश र उज्यालो वातावरणमा नवरात्री सुरु भएदेखि नै घर लिपपोतका लागि कमेरो र रातोमाटो, ढिकीमा चिउरा कुटेको आवाज, वर्ष दिन अघिदेखि पालपोष गरेको खसी र दर्जीले सिलाएको नयाँ कपडाको बास्नाले समुदायमा दशैंको उल्लास भित्रिने गरेको अनुभव बुढापाकाको छ ।
घरघरबाट काठपात, बाँस र बाबियो भेला गरेर दशैंमा खेल्नका लागि रोटे र लिंङ्गेपिङ हाल्ने चलन थियो । बस्तुभाउलाई दिने घाँसको जोहो, चिरिच्याट्ट पारिएको गोरेटो र घोडेटो बाटो, चौतारो र पाटी पौवाको सरसफाइ, पाहुना र कोसेलीपात, सुकिला लुगा लगाएका नयाँनयाँ मान्छेको आवतजावतले त्यो बेला दशैंको माहौल नै अर्कै हुन्थ्यो ।
दुर्गा पूजा गर्ने, मन्दिर जाने, पशु बली दिने, टीका जमरा र भेटघाटका लागि गरिने पैदल यात्राको रमाइलो बेग्लै थियो । दशैं नमान्ने समुदायका व्यक्ति समेत आफ्ना काम थाती राखेर रोटे र लिङ्गे पिङ, तोपको बढाइ र फूलपाती उत्सवमा रमाउँथे ।
समय बदलियो, प्रविधि बदलियो, उ बेलाको दशैंको माहौल अब छैन । अहिले हरेक जसो घरका युवा पढाइ र रोजगारीको खोजीमा परिवारबाट टाढिएका छन् । सामाजिक अवस्थासँगै दशैंको परम्परागत स्वरूपमा पनि बदलाव आएको छ ।