काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको आज राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । उहाँको मुम्बईको वर्लीस्थित श्मसानमा अन्तिम संस्कार गरिएको हो ।
यसअघि मुम्बईको एनसीपीए ग्राउन्डमा राखिएको उहाँको पार्थिव शरीरलाई मन्त्रीहरु, राजनीतिक दलका नेता, अभिनेता, खेलाडी, उद्योगपति तथा सर्वसाधारणले अन्तिम श्रद्धान्जली दिएका थिए ।
भारतको टाटा समूहका मानार्थ अध्यक्ष रहनु भएका टाटाको ८६ वर्षको उमेरमा बुधबार राति निधन भएको हो ।
उहाँको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरु लगायत भारतका दिग्गज व्यक्तित्वहरुले दुस्ख व्यक्त गरेका छन् । महाराष्ट्र सरकारले टाटालाई भारतको सर्वोच्च सम्मान भारतरत्नले सम्मानित गर्ने निर्णय गरेको छ । भारतीय उद्योग जगतलाई विश्व मन्चमा स्थापित गराएका टाटालाई भारत सरकारले पद्मविभुषणबाट सम्मानित गरेको थियो ।
भारतीय उद्योगपति रतन टाटाले टाटा समूहमार्फत् भारतीय उद्योग जगतलाई विश्वमन्चमा स्थापित गराएका थिए । नूनदेखि सफ्टवेयर र सामान्य वर्ग लक्षित नानो कारदेखि महंगो जगुआरसम्म उत्पादन गर्दै आएको टाटा समूह अन्तर्राष्ट्रियस्तरमै प्रसिद्ध छ । रतन टाटाले टाटा समूहलाई कसरी भारतबाट अन्तर्राष्ट्रिय बजारसम्म विस्तारित गरे ?
सन् १९९१ मा जेआरडी टाटाले अध्यक्ष पदबाट राजीनामा दिएर रतन टाटालाई उत्तराधिकारी नियुक्त गर्दा टाटा कम्पनीले कठिन परिस्थितिको सामना गरिरहेको थियो । तर, अमेरिकाको कर्नेल विश्वविद्यालय र हार्भर्ड बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका रतन टाटामा कठिन परिस्थितिको सामना गर्ने खुबी थियो । त्यसअघि नै उनले टाटा स्टील, एसके नानावती तथा नेशनल रेडियो एण्ड इलेक्ट्रोनिक्समा काम गर्दा आफ्ना कडा मिहिनेतको परिचय दिइसकेका थिए ।
सोही कारण नेतृत्व लिएको दुई दशकमै उनले टाटा ग्रुपलाई नयाँ उचाइमा पु¥याउन सफल भए र टाटाले विश्वस्तरमै पहिचान पायो । सन् २००० मा उनले टाटाभन्दा दुई गुणा ठूलो बेलायतको टेटली समूहलाई खरिद गरेर सबैलाई चकित बनाएका थिए । तर आज यो विश्वकै दोस्रो ठूलो चिया कम्पनी बनेको छ । यस्तै, टाटाले जगुआर, ल्यान्ड रोभर र कोरसजस्ता ठूला कम्पनीको स्वामित्वमा लिएर आफ्नो व्यापार विश्वव्यापी बनाएको छ । टाटाले सन् २००९ मा दिल्ली अटो एक्स्पोमा नानो कारको अनावरण गरे, जसको मूल्य १ लाख राखिएको थियो र यसको परिकल्पना औसत भारतीय उपभोक्ताको पहुँचमा हुने गरी राखियो । टाटा ग्रुपले हाल ६ लाख ६० हजारलाई रोजगारी दिइरहेको छ भने वार्षिक एक सय अर्ब डलरभन्दा बढी कारोबार गर्दै आएको छ । उनले आफ्नो कार्यकालमा कम्पनीको राजस्व ४० गुणा र कम्पनीको नाफा ५० गुणाले बढाउन सफल भए ।
रतन टाटाले ७५ वर्षको उमेरमा २८ डिसेम्बर २०१२ मा टाटा सन्सको अध्यक्ष पदबाट राजीनामा दिए र साइरस मिस्त्रीलाई उत्तराधिकारी नियुक्त गरियो । यद्यपि, निर्देशक बोर्ड र कानूनी विभाजनले २४ अक्टोबर २०१६ मा मिस्त्रीलाई पदबाट हटाइ रतन टाटालाई पुनः समूहको अन्तरिम अध्यक्ष बनाइयो। त्यसपछि रतन टाटाको उत्तराधिकारी चयन गर्न गठित समितिले २०१७ मा नटराजन चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्षमा नियुक्त गर्यो। टाटा समूहको सामाजिक कार्यमा पनि उत्तिकै योगदान छ । समूहले वार्षिक हजारौं विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । २६ नोभेम्बर २००८ मा मुम्बईमा ताज महल प्यालेसमा आतंकवादी हमला हुँदा ११ कामदार मारिए । टाटाले मृतकका परिवारलाई जीवनभर तलब दिने घोषणा गर्यो ।
लस एन्जलसमा काम गर्दा उनी एक युवतीसँग प्रेममा परे र परिवारको एक सदस्य बिरामी भएकाले भारत फर्कनुपर्यो। त्यसबेला प्रेमिकालाई अभिभावकले भारत जान दिएनन् । टाटा आफ्नो प्रतिबद्धतामा अडिग रहे र जीवनभर अविवाहित रहे ।